नियम ३८
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना
(१) नियम ३६ बमोजिम मतपेटिका जाँच गरेको मुचुल्का गरी सकेपछि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको प्रयोजनको लागि प्रयोग गरिएको मतपेटिकामा लगाएको सुरक्षण सिल तोडी मतपेटिकामा रहेका सबै मतपत्रहरू गणना गर्ने स्थानमा खन्याउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतपत्र खन्याउँदा एकभन्दा बढी मतदान केन्द्रको मतपत्रहरू एकै स्थानमा मिसाई मतगणना गर्नु पर्नेछ । त्यसरी मतपत्र मिसाउनु अघि त्यस्ता मतदान केन्द्रमा खसेको कुल मतको विवरण छुट्टै लेखी सुरक्षित राख्नु पर्नेछ ।
(३) यस नियम बमोजिम मतगणना गर्नुअघि बदर मतपत्र अलग छुट्याई सदर मतपत्रहरू उम्मेदवारको निर्वाचन चिन्ह अनुसार अलग–अलग छुट्टयाई ठेली बनाई त्यस्ता मतदान केन्द्रमा खसेको मतपत्रको कुल सङ्ख्या उल्लेख गरी मुचुल्का बनाउनु पर्नेछ ।
(४) निर्वाचन अधिकृत वा निजले खटाएको कर्मचारीले मतगणना गर्दा सदर वा बदर मतपत्र उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई देखाउनु पर्नेछ । तर सो मतपत्र निजलाई छुन वा समाउन दिनु हुँदैन ।
(५) उपनियम (३) बमोजिम छुट्टयाइएका मतपत्रमध्ये सबैभन्दा पहिले बदर मतपत्र र त्यसपछि सदर मतपत्रको गणना गर्नु पर्नेछ ।
(६) सम्बन्धित निर्वाचन क्षेत्रको सबै मतदान केन्द्रको मतगणनाको कार्य सम्पन्न भईसकेपछि निर्वाचन अधिकृतले मतगणनाको तालिका तयार गर्नु पर्नेछ । यसरी तालिका तयार गरेपछि सोको मुचुल्का गराई राख्नु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम मतगणना तालिका तयार गरी सकेपछि सबैभन्दा बढी सदर मत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गरी निर्वाचन परिणाम प्रकाशन गर्नु पर्नेछ ।
(८) निर्वाचन अधिकृतले उपनियम (७) बमोजिमको निर्वाचन परिणामको एक प्रति आयोगमा तुरुन्त पठाउनु पर्नेछ ।
(९) निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्रमध्ये सदर र बदर मतपत्र छुट्टाछुट्टै खाम वा थैलोमा सिलबन्द गरी राख्नु पर्नेछ । यसरी सिलबन्दी गर्दा आपूmले सहीछाप गरी उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले सहीछाप गर्न चाहेमा निजहरूलाई समेत सहीछाप गर्न दिनु पर्नेछ ।
(१०) मतगणनाको कार्य सम्पन्न भएपछि निर्वाचन अधिकृतले मतगणना कार्य सम्पन्न भएकोे मुचुल्का गर्नु पर्नेछ र सो मुचुल्कामा आपूmले सहीछाप गरी मतगणना स्थलमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिको समेत सहीछाप गराउनु पर्नेछ ।
(११) यस नियम बमोजिम तयार गरिएको मुचुल्का वा मतगणना तालिकामा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिले सहीछाप नगरेमा सोही व्यहोरा जनाई मतगणना स्थलमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ।